दफा २१
वार्षिक सुरक्षण शुल्क सम्बन्धी व्यवस्था
(१) सुरक्षित सदस्य संस्थाले बुझाउने वार्षिक सुरक्षण शुल्क कोषद्वारा तोकिए बमोजिम हुनेछ ।
(२) उपदफा (१) बमोजिम तोकिएको सुरक्षण शुल्क वर्षमा चार पटक श्रावण, कार्तिक, माघ र वैशाख महिनाको १० गते भित्र बुझाउनु पर्नेछ ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कोषले वार्षिक सुरक्षण शुल्क अग्रिम रुपमा तोकिए बमोजिम बुझाउनु पर्ने गरी तोक्न सक्नेछ ।
(४) उपदफा (१) मा उल्लिखित प्रयोजनको लागि कोषले निक्षेप सुरक्षण बापत सुरक्षित निक्षेपको न्यूनतम शून्य दशमलव एक प्रतिशत र अधिकतम एक प्रतिशतको सीमाभित्र रहने गरी वार्षिक शुल्क  तोक्नेछ ।
(५) कोषको वित्तीय साधन र स्रोतको क्षमता तथा कूल सुरक्षित निक्षेपको अनुपात पाँच प्रतिशतभन्दा माथि रहेमा कोषले वार्षिक सुरक्षण शुल्क शून्य दशमलव एक प्रतिशत निर्धारण गर्न सक्नेछ ।
(६) सुरक्षण शुल्क सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।